८ कात्तिक,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ प्रयोग गरेवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगहरूको विद्युत् लाइन काटेको छ।
यसअघि ६ वटा उद्योगको बिजुली काटिएकोमा गएराति थप १८ उद्योगको आपूर्ति बन्द गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।
प्रवक्ता ढकालका अनुसार पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्डस्ट्रीज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो।
यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौती गरिएको थियो।
ढकालका अनुसार डेडिकेटेड फिडर र ट्रङ्कलाइन प्रयोग गरेर महसुल नतिर्ने उद्योगहरूबीच आठ अर्ब रुपैयाँभन्दा बढी बक्यौता बाँकी छ। तीमध्ये १४ उद्योगले किस्ताबन्दीमा तिर्न थालेका छन् भने ६ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन्।
“हेटौडा सिमेन्ट र उदयपुर सिमेन्टको पनि बक्यौता रहेको छ,” ढकालले भने, “प्राधिकरणले महसुल नतिर्ने उद्योगहरूको लाइन विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ अनुसार काटेको हो।”
डेडिकेटेड र ट्रङ्कलाइनको महसुल उठाउने विवाद २०७५ सालदेखि नै समाधान हुन नसकेको हो। तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा बक्यौता अध्ययन समिति गठन भएयता प्राधिकरणले निरन्तर उद्योगहरूबाट रकम असुलीको प्रयास गर्दै आएको छ।
उद्योगी–व्यवसायीहरूले भने आफूहरूले डेडिकेटेड वा ट्रङ्कलाइन प्रयोग नै नगरेकाले त्यसको महसुल तिर्नुपर्ने आधार नभएको दाबी गर्दै आएका छन्।
प्राधिकरणले गएको असोज १२ गते उद्योगहरूलाई २१ दिनभित्र बक्यौता बुझाउन सूचना निकालेको थियो। सो अवधिसम्म रकम तिर्न नआएपछि प्राधिकरणले विद्युत् लाइन काट्ने निर्णय गरेको हो।
















