८ कात्तिक,काठमाडौं । नेपाली सेनाले मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक शिकार आरक्षसहित चुरे क्षेत्रको संरक्षणमा ९ हजार ४६ जना जनशक्ति परिचालन गरेको छ।
युद्धकार्य निर्देशक मनोज थापाले दिएको जानकारीअनुसार, संरक्षणको जिम्मेवारीका लागि सेनाका ८ वटा गण, २ वटा वन तथा पर्यावरण सुरक्षा गण र ७ वटा अनाश्रित गुल्म खटिएका छन्।
सेनाले गरेको सुदृढ सुरक्षा तथा संरक्षण कार्यका कारण पछिल्लो १५ वर्षयता नेपालमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ, जुन सन् २००९ को जनगणनामा १२१ मात्र थियो। त्यसैगरी, गैँडाको सङ्ख्या ७५२ पुगेको छ, जबकि सन् २००५ को गणनामा यो सङ्ख्या ४०० थियो।
यद्यपि, यो महत्वपूर्ण उपलब्धि हासिल गर्ने क्रममा ११६ जना सैनिकले वन्यजन्तुको आक्रमण र अन्य कारणबाट आफ्नो ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षमा मात्रै जङ्गली जनावरको आक्रमणमा परी ५ जना सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
चालू आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, १ हजार ९७६ जाल पासो, १ हजार ९६५ घरेलु औजार, ३३५ वटा सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरिएको निर्देशक थापाले बताए।
वन्यजन्तु संरक्षणका अतिरिक्त नेपाली सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्नका लागि पछिल्लो दशकदेखि वार्षिक रूपमा हिमाल सफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ।
















