८ कात्तिक,काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको कारण देखाउँदै काठमाडौंको पाँचतारे हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द गरिएको छ। मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षासम्बन्धी संवेदनशीलता जनाउँदै होटल व्यवस्थापनले सेवा स्थगनको निर्णय गरेको हो।
होटलका मानव संशाधन निर्देशक मोहम्मद यूसुफ यानीले जारी गरेको सूचनामा होटल मर्मत तथा पुनर्निर्माणका लागि अस्थायी रूपमा बन्द गरिएको उल्लेख छ। तर, मर्मतपछि होटल पुनः सञ्चालनमा ल्याइने वा नल्याइनेबारे व्यवस्थापनले स्पष्ट गरेको छैन।
सूचनामा होटलका श्रमिकहरूलाई अर्को सूचना जारी नहुँदासम्म होटल परिसरमा नआउन आग्रह गरिएको छ। तर, होटलमा क्रियाशील ट्रेड युनियनका नेताहरूले भने व्यवस्थापनले वार्ताको क्रममा एकतर्फी रूपमा होटल बन्दको सूचना जारी गरेर श्रमिकहरूमाथि अन्याय गरेको आरोप लगाएका छन्।
वर्षौंदेखि हायातमा कार्यरत् श्रमिक र ट्रेड युनियन नेताहरूले लामो समयदेखि सेवा सुविधासम्बन्धी विवाद कायमै रहेको र अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थामा एक्कासी गरिएको बन्द निर्णय ‘असंवेदनशील र मनोमानी’ भएको बताएका छन्।
एक श्रमिक नेताले भने,
“व्यवस्थापन, श्रमिक संगठन र बौद्धका डीएसपीको रोहबरमा वार्ता भएको थियो। हामीले होटल बन्द र कर्मचारीलाई घर पठाउने निर्णयको विरोध गरेका थियौं। दबाबपछि कात्तिक २ गते अर्को सूचना पनि निकालियो, जसमा तिहारपछि वार्ता निरन्तर गर्ने भनिएको थियो।”
तर त्यसपछि होटल परिसरमा श्रमिकको प्रवेश निषेध गरिएको र भान्सा तथा स्टाफ टायलटमा समेत ताला लगाइएको उनीहरूको आरोप छ। श्रमिकहरूले हिजो पनि होटल बाहिर धर्ना दिएका थिए।
होटलमा करिब ९ सय कर्मचारी प्रभावित
हायातमा होटल र क्यासिनो गरी स्थायी र करार गरी करिब ८–९ सय कर्मचारी कार्यरत् छन्। व्यवस्थापनले करिब २६ वर्ष पुरानो यो होटललाई नयाँ र आधुनिक स्वरूपमा रूपान्तरण गर्ने योजना अघि सारेको थियो।
होटलमा २८० कोठा छन्। व्यवस्थापनले पहिले १४० कोठालाई दुई चरणमा पुनर्निर्माण गर्दै होटल बन्द नगरी ५० प्रतिशत बुकिङ कायम राख्ने योजना बनाएको थियो। तर, हालको निर्णयले सम्पूर्ण सेवा नै बन्द भएको छ।
भदौ २४ गते राति होटलको लबीमा आगजनी भएको थियो। सय जनाजतिको समूहले आक्रमण गर्दा होटलको केही भाग जलेको थियो। त्यसक्रममा लडेर एक भारतीय पर्यटक महिलाको मृत्यु भएको थियो। त्यसयता हायात परिसरमा सुरक्षा व्यवस्था कडा गरिएको थियो।
श्रमिकहरूको आरोप छ,
“भाटभटेनीका शाखाहरूमा समेत आगजनी हुँदा कर्मचारी ननिकालिएको थियो, तर हायातले आन्दोलनलाई निहुँ बनाई सयौंको रोजगारी गुमाउने निर्णय गरेको छ।”
सरकारको चासो
होटलको जग्गा तथा सम्पत्ति तारागाउँ विकास समितिको स्वामित्वमा रहेको छ। समितिका प्रमुख रानि बाङसँग सम्पर्क गर्न खोज्दा फोन नउठेको र सन्देशको जवाफ नआएको बताइएको छ।
यसबीच प्रधानमन्त्री सुशीला कार्कीले होटल बन्द प्रकरणमा चासो देखाएकी छन्। अर्थमन्त्री रामेश्वर खनालले सुरक्षा प्रत्याभूतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन्।
उनले भने,
“सरकार सुरक्षाका हिसाबले पूर्ण जिम्मेवारी लिनेछ। हायातले सेवा पुनः सुचारु गर्न विचलित नहोस्।”
तर, होटल व्यवस्थापनले भने पुनः सञ्चालनको मिति तोक्नेबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

















