९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र पारेको छ ।
यसै क्रममा आयोगले चुनाव सम्पन्न गर्नका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको छ । यद्यपि, यो अनुमानित बजेटले अन्तिम रूप पाउन बाँकी छ । बजेटलाई अन्तिम टुङ्गो लगाएर अर्थ मन्त्रालयमा पठाउने तयारीमा आयोग जुटेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले प्रारम्भिक अनुमान साढे सात अर्ब रुपैयाँको रहेको पुष्टि गर्दै यस विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी दिएका छन् ।
छठपछि सामग्री खरिदको तयारी
निर्वाचनको लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्ने काम पनि सँगै भइरहेको छ । आयोगले छठ पर्व सकिएलगत्तै निर्वाचन सामग्रीहरू खरिद गर्न सुरु गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ । यसअघि मौज्दात रहेका सामग्री प्रयोग गरेर थप आवश्यक सामग्रीहरू मात्र खरिद गर्ने आयोगको योजना छ ।
हिमाली क्षेत्रमा हेलिकप्टरको प्रबन्ध
आयोगले सामग्री खरिदबाहेक केही रकम आकस्मिक व्यवस्थापन शीर्षकमा राख्न खोजेको छ । हिमाली क्षेत्रमा प्रतिकुल मौसमका कारण निर्वाचन गराउन कठिन हुन सक्ने अनुमान गर्दै आयोगले कर्मचारी खटाउन र निर्वाचन सामग्री ढुवानी गर्नका लागि हेलिकप्टरको व्यवस्था गर्ने गरी आकस्मिक बजेटको प्रबन्ध गर्न लागेको हो । मौसम खुलेका बेला कर्मचारी र सामग्री ढुवानी गर्ने योजना आयोगको छ ।
खर्चको ठूलो हिस्सा कर्मचारीमा
आयोगले विगतको अभ्यासलाई निरन्तरता दिँदै एक हजार मतदाताका लागि एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ । आयोगका अनुसार, एउटा मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने भएकाले निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापन (तलब, भत्ता र सुविधा) मा नै सबैभन्दा बढी खर्च हुनेछ । मतगणनाका लागि पनि छुट्टै कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
















