९ कात्तिक, काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मध्ये दुई जनाको मात्रै आज शपथ हुने भएको छ। उच्च स्रोतका अनुसार, सिफारिस सूचीमा परेका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ हालका लागि रोकिएको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चारजना नयाँ मन्त्रीको सिफारिस गरेको थियो। तीमध्ये बब्लु गुप्ता र सुधा शर्मा गौतमले भने आज शपथ लिनेछन्।
गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मा दिइएको स्रोतले जनाएको छ।
सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने गरी सिफारिस गरिएको थियो। तर, सुनारको नाममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री कार्कीले थप छलफल गरेकी थिइन्। छलफलपछि सुनार र श्रेष्ठ दुवैको शपथ स्थगित गरिएको हो।
राष्ट्रपति कार्यालयले आज दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ। तर विवादकै कारण दुई मन्त्रीको शपथ स्थगित भएपछि आज केवल दुई जनामात्रै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
















