९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनीको छानबिनका लागि गठित जाँचबुझ आयोगका पदाधिकारीहरूको योग्यता र निष्पक्षतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारी लाई विपक्षी बनाई आयोगको कामकारबाही रोक्न माग गर्दै रिट दायर गर्नुभएको हो । रिट निवेदकले अध्यक्ष कार्की र सदस्य शर्माले छानबिनको विषयवस्तुबारे पहिले नै सार्वजनिक रूपमा धारणा राखेर पूर्वाग्रहीपन देखाएको दाबी गर्नुभएको छ ।
उहाँका अनुसार, जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्ने भए पनि घटनाबारे पहिले नै धारणा बनाइसकेका व्यक्तिहरूबाट तटस्थ र पूर्वाग्रहरहित काम हुन नसक्ने भएकाले उनीहरूलाई तत्काल काम गर्नबाट रोक्न अन्तरिम आदेश माग गरिएको छ । आयोगका दुई सदस्य पूर्वाग्रही हुँदा अर्का सदस्य भण्डारीले त्यसलाई रोक्न नसकेकोमा समेत रिटमा प्रश्न उठाइएको छ ।
सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्वएआईजी विज्ञानराज शर्मा र अधिवक्ता विश्वेश्वरप्रसाद भण्डारीलाई सदस्य राखेर यो आयोग गठन गरेको थियो, जुन अहिले आगजनीबाट क्षतिग्रस्त पुरानो प्रधानमन्त्री कार्यालयमा सचिवालय स्थापना गरेर काम गरिरहेको छ ।
















