१२ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीबीचको एकता प्रक्रियामा हतार नगर्न आग्रह गरेका छन् ।
उनले यो एकतालाई केवल दुई पार्टीको विलयका रूपमा मात्र नहेरी समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थानविन्दु बनाउनुपर्नेमा जोड दिएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै नेता श्रेष्ठले धैर्यतापूर्वक प्रयत्न गर्न अपिल गरेका छन् । उनको मुख्य जोड यो एकताले सार्थक परिणाम दिन सक्नुपर्छ भन्नेमा छ । उनले भनेका छन् ‘हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ।’
श्रेष्ठका अनुसार, पार्टी एकताको प्रक्रियाले नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक-सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठनको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ । उनले दुई पार्टी विभाजित नभई समग्र रूपमा एकता प्रक्रियामा सामेल हुने सुनिश्चितता गरेर मात्र अघि बढ्नुपर्ने बताएका छन्, ताकि यो एकीकरण औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुन सकोस्।
















