Logo

१२ कात्र्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सचिवालय सदस्य माधवप्रसाद सापकोटाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई तत्काल माओवादी केन्द्रसँग पार्टी एकता गर्न आह्वान गरेका छन् ।
विप्लवले मंगलबार निर्वाचनमा भाग लिने उद्देश्यसहित निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि सापकोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यो महत्त्वपूर्ण आग्रह गरेका हुन् ।

विगतको स्मरण र एकताको औचित्य

सापकोटाले विप्लवलाई विगतको ‘बुलेट कि ब्यालेट’ भन्ने गम्भीर वैचारिक बहसलाई स्मरण गराएका छन्, जसले अन्ततः पार्टी विभाजन गरेको थियो। तत्कालीन विभाजनमा विप्लव नेतृत्व तहमा नभए पनि निर्णायक भूमिकामा रहेको आरोप सापकोटाको छ ।

उनले विप्लवलाई सम्बोधन गर्दै लेखेका छन्‘ तत्कालीन विभाजनमा तपाईंसँगै रहनुभएका कमरेडहरूको ठुलो हिस्सा विभिन्न चरणमा त्यही निर्णय गरेर हाल माओवादी पार्टीमा सक्रिय हुनुहुन्छ। तपाईंको यो कदममा अन्य भित्री चालबाजी छैन र तपाईंले नै भने जस्तै समग्र सङ्घर्षको मोर्चाको रूपमा इमानदारीपूर्वक आत्मसात् गरेको हो भने त्यो मोर्चा त्यतिबेला मात्र सफल र सम्भव छ, जतिबेला नेपालमा बलियो कम्युनिस्ट केन्द्र निर्माण हुन्छ।’

सापकोटाले विप्लवको निर्वाचनमा जाने निर्णयलाई स्वागत गर्दै यसलाई बलियो कम्युनिस्ट केन्द्र निर्माणका लागि विलम्ब नगरी तत्काल पार्टी एकता गर्ने अवसरका रूपमा लिन जोड दिएका छन् ।


सम्बन्धित समाचार