१२ कात्तिक,काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते आइतबार गर्ने निर्णय गरेको छ। यो जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले दिएका छन्।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्ने निर्णय गरेको हो।
२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ। १९ मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत सांसद हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनु भन्दा कम्तीमा ३५ दिन अघि निर्वाचन हुनुपर्छ। राष्ट्रिय सभा सदस्यको पदावधि २० फागुनमा सकिने भएकाले कानुनी प्रक्रिया अनुसार माघ ११ गते निर्वाचन हुने व्यवस्था गरिएको छ।
















