१३ कात्र्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीभित्र पछिल्लो समय चर्किएको पार्टी एकताको बहसले केन्द्रीय समिति बैठकमा उत्कर्ष रूप लिएको छ ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव कुमार नेपालले माओवादी केन्द्रसँग एकताको पहल गरिरहेको विषयमाथि गम्भीर प्रश्न उठाएका छन् । काठमाडौँको सुकेधारामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै खनालले अध्यक्ष नेपाललाई सिधै प्रश्न गरे, ‘यो पार्टी फुटाएर तपाईं माओवादीमा जान सुहाउँछ?’
नेता खनालले अहिलेको समय पार्टी एकता गर्ने नभई क्रान्तिकारी विचार बोकेको बलियो पार्टी निर्माण गर्ने बेला भएकोमा जोड दिएका छन् । उनले माओवादी केन्द्रभित्रै राजनीतिक र सैद्धान्तिक मतभेदहरू रहेकाले यस्तो बेला एकता गर्नु उचित नहुने उनको तर्क छ।
“पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस् । होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो।”
माधव नेपाललाई दुई ठूला चुनौती
खनालले एमालेसँग विद्रोह गर्दा चार वर्षसम्म आफूहरूले नेपाललाई साथ दिएको स्मरण गराउँदै अहिले उनले पार्टी छाडेर जानु उचित नहुने बताए। उनले पार्टी चलाउन नसकिएको, पैसा नभएको वा कार्यालय तोडफोड भएको कारण देखाएर एकता गर्न खोजिएको हो भने त्यो स्पष्ट भन्नुपर्ने कटाक्ष गरेका छन् । सम्मानित नेता खनालले अध्यक्ष नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा पार्टी अध्यक्ष पदबाट राजीनामा दिन समेत सुझाव दिएका छन् ।
के छ, अन्य नेताहरूको धारणा ?
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी एकता गर्दा संविधान संशोधनको विषयलाई ध्यानमा राख्नुपर्ने बताए। उनले पार्टी चलाउन नसकेपछि ‘अर्कोलाई बुझाउनैपर्छ’ भन्दै एकताको विकल्प नभएको सङ्केत गरे । उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि पार्टी एकता अहिलेको आवश्यकता भएको भन्दै त्यसबाट पछि हट्न नहुने धारणा राखेका छन् । खनालको यो कडा अभिव्यक्तिले एकीकृत समाजवादीको पार्टी एकताको बहसमा ठूलो भूकम्प सिर्जना गरेको छ।
















