१३ कात्तिक,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा सुरु भएको छ। दिउँसो १ बजेका लागि तय भएको बैठक केहीबेर अघि प्रारम्भ भएको हो।
पार्टीको गत असोज २८ गतेदेखि सुरु भएको बैठकले मुख्यत: गत भदौ २३–२४ गतेको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था तथा पार्टीको भूमिकामा केन्द्रित छलफल गर्दै आएको छ।
आजको बैठकमा विशेषगरी पार्टीको १५औँ महाधिवेशनका विषयमा विस्तृत छलफल भइरहेको छ। हाल सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिँदै छ। यसै सन्दर्भमा नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र लामो समयदेखि बहस चल्दै आएको छ।
नियमित महाधिवेशन नहुने अवस्था भएमा विशेष महाधिवेशनको माग गर्दै केही नेताहरूले हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। अहिलेसम्मका विवरणअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्।
यसअघि असोज २८ गतेको बैठकमा सभापति देउवाले स्वास्थ्य कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता उनका नेतृत्वमा कार्यसमितिको बैठक जारी रहेको छ।
बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको बैठक तय गरेको थियो। बैठक आगामी निर्णय र महाधिवेशन तयारीका विषयमा महत्वपूर्ण चर्चा गर्ने अपेक्षा गरिएको छ।
















