Logo

१३ कात्तिक,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबार परिसरमा सार्ने तयारी सुरु भएको छ। सिंहदरबारको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालयको अस्थायी ‘प्रिफ्याब’ भवन निर्माण भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

डा. बुढाथोकीका अनुसार, नेपाली सेनाको गण उत्तरतर्फ सरेपछि खाली भएको जग्गामा ६ वटा प्रिफ्याब भवन बनाइँदैछ। बाँकी खाली रहेको भवनमा रङ्ग लगाएर कार्पेटिङ गरी मन्त्रालयको कार्यालय सञ्चालन गर्ने योजना छ। उनले भने, “दुई हप्ताभित्र संरचना तयार गरी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको छ। सम्भवतः मङ्सिर १ गतेदेखि सरिसक्ने अपेक्षा छ।”

उनले थपे, “सिंहदरबारभित्र नयाँ संसद् भवन बनेपछि वर्तमान संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ। त्यसका लागि छलफल पनि भइरहेको छ।”

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको पुरानो भवन जलेर ध्वस्त भएको थियो। हाल मन्त्रालयले आफ्नो कार्यालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट सञ्चालन गर्दै आएको छ।


सम्बन्धित समाचार