Logo

१४ कार्तिक, काठमाडौँ । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले आज (शुक्रबार) र भोलि (शनिबार) देशका तीन प्रदेश (कोशी, मधेश र बागमती) मा भारी वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेको छ। सरकारले जनतालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि नै मनसुनको सक्रियता बढ्दै गएको र शनिबारसम्म यसको प्रभाव रहने अनुमान गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा केही स्थानमा मध्यम वर्षा भए पनि आजदेखि धेरै स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले १३ देखि १५ कात्तिकसम्म कोशी, मधेश र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने र लुम्बिनी प्रदेशका नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रमा साना नदीमा बाढी आउने चेतावनी दिएको छ। कोशी, मधेश र बागमती भएर बग्ने नदीहरूले सतर्कता तह पार गर्ने सम्भावना भएकाले स्थानीय निकाय र जनतालाई सतर्क रहन आग्रह गरेको छ।

वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गको खुर्कोट–धुलिखेल खण्डमा बिहीबार रातिदेखि दुई रात सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा सिन्धुली जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको भन्दै यात्रु तथा चालकलाई सम्भावित दुर्घटनाबाट जोगाउन विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशभर उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

हिमपातका कारण समस्यामा परेका १७ जना विदेशीसहित ७२ जना पर्यटकलाई म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट सुरक्षाकर्मीले उद्धार गरेका छन्।

प्रहरी नायब उपरीक्षक लिलाबहादुर भुजेलका अनुसार ती पर्यटक वर्षा र हिमपातका कारण पैदलमार्ग अवरुद्ध भएपछि फसेका थिए। उद्धार गरिएका सबै पर्यटकलाई बिहीबार बिहान हुमखोला झारिएको र उनीहरू सकुशल रहेको जनाइएको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र वर्षाको सम्भावित जोखिमका कारण सोमबारदेखि आज (शुक्रबार)सम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा अस्थायी रोक लगाइएको बताए। प्रशासन र अन्नपूर्ण गाउँपालिकाले खोप्रालेक, घोडेपानी, पुनहिल, मोहरेडाँडालगायत क्षेत्रमा पनि यात्रा नगर्न सार्वजनिक अपिल गरेका छन्।

यस्तै, म्याग्दीको धवलागिरि–४ मुदी क्षेत्र हुँदै मुस्ताङको घरपझोङ–२ मार्फा जाँदै गरेका तीन जना बेलायती महिला र १२ जना नेपाली गाइड तथा मजदुर हिमाली क्षेत्रमा फसेका छन्। उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।

मनाङको माथिल्लो क्षेत्रमा लगातार हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा कठिनाइ बढेको छ।

स्थानीय पत्रकार नवराज पहाडीका अनुसार तीन सय विदेशी सहित करिब साढे पाँच सय पर्यटक मनाङमा रोकिएका छन्। अस्थायी प्रहरी चौकीका प्रमुख अशोक सापकोटाले प्रहरी टोलीले पर्यटक तथा स्थानीयको अवस्था अनुगमन गरिरहेको जानकारी दिए।

तिलिचो बेसक्याम्पमा फसेका २५ जना पर्यटकलाई निसाङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले घोडा पठाएर उद्धार गरेका छन्।

संखुवासभामा पनि निरन्तर वर्षा र हिमपात जारी रहेकाले मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रमा पदयात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रमुख अधिकारी सिर्जना थपलियाले शनिबार (१५ कात्तिक)सम्म मकालु आधार शिविर क्षेत्रमा यात्रा नगर्न अनुरोध गर्दै भनिन्, “४ हजार मिटरभन्दा माथि हिमपात भइरहेको छ। चिसो र खाद्यान्य अभाव हुनसक्ने भएकाले पर्यटकले उच्च सतर्कता अपनाउनुपर्छ।”

मकालु आधार शिविरमा हाल करिब दुई सयभन्दा बढी पर्वतारोही छन्, जसमा करिब ७० जना विदेशी र ६०–७० जना नेपाली रहेका प्रशासनले जनाएको छ।

धनकुटा प्रशासनले बिहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पाख्रीबास नगरपालिकाका सबै विद्यालय १४ देखि १८ कात्तिकसम्म बन्द गरिएका छन्। नगरप्रमुख ज्ञानबहादुर गुरुङका अनुसार सम्भावित जोखिमका कारण विद्यार्थी र शिक्षकको सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

सरकार र सम्बन्धित निकायहरूले देशका हिमाली तथा पहाडी क्षेत्रका स्थानीयवासी र यात्रुलाई आवश्यक तयारी गर्न, जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन र सूचना प्रसारणमा सहयोग गर्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै