१४ कार्तिक, काठमाडौँ । शुक्रबार बिहानदेखि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्डमा ढुंगा खस्ने क्रम रोकिएपछि सवारी आवागमन पुनः सुचारु भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन-नारायणगढ सडकअन्तर्गत तुइनखोला पुल नजिक पहरोबाट लगातार ढुंगाहरू खस्दा बिहानैदेखि सडकमा सवारी आवागमन अवरुद्ध भएको थियो। अहिले ढुंगा झर्ने क्रम रोकिनुका साथै पहिरो पन्छ्याउने काम अघि बढेपछि सडक सञ्चालनमा आएको हो।
सडक डिभिजनका सुपरभाइजर इश्वर क्षेत्रीका अनुसार मेसिनको सहायताले पहिरो हटाउने कार्य जारी छ। उनका अनुसार वर्षातको समयमा उक्त क्षेत्रमा बारम्बार ढुंगा र माटो खस्ने जोखिम रहने भएकाले चालक र यात्रुलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।
सडक डिभिजनले पहिरोका कारण अवरुद्ध हुने सम्भावना कायम रहेको बताउँदै नियमित निगरानीका साथ जोखिम व्यवस्थापनमा ध्यान दिइरहेको जनाएको छ।
















