Logo

२४ पौष, वीरगञ्ज । बढ्दो चिसो मौसमका कारण प्रभावित सर्वसाधारण नागरिक, बिरामी तथा कुरुवाहरूलाई राहत प्रदान गर्ने उद्देश्यले लायन्स क्लबले सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

यसैक्रममा लायन्स क्लबको पहलमा वीरगञ्जको घण्टाघर क्षेत्र तथा नारायणी अस्पताल परिसरमा काठ हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। हस्तान्तरण गरिएको काठ प्रयोग गरी चिसोबाट जोगिन विभिन्न सार्वजनिक स्थानहरूमा आगो बाल्ने अभियान निरन्तर रूपमा सञ्चालन भइरहेको लायन्स क्लबले जनाएको छ।

चिसो मौसमका कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला यस्तो सहयोगले सर्वसाधारणलाई उल्लेखनीय राहत पुगेको स्थानीयवासीहरूको भनाइ छ। विशेषगरी अस्पताल परिसरमा बिरामीका कुरुवा तथा असहाय व्यक्तिहरूका लागि आगो ताप्ने व्यवस्था प्रभावकारी बनेको छ।

लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीले लायन्स क्लब सदैव मानवीय सेवामा समर्पित संस्थाका रूपमा कठिन समयमा समुदायको साथमा उभिँदै आएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता सेवामूलक तथा राहतका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गर्दै लायन्स क्लबले सामाजिक सद्भाव, सहकार्य र मानवताको सेवामा सबैलाई हातेमालो गर्न अपिल गरेको छ।


सम्बन्धित समाचार