Logo

१९ फाल्गुण, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र मानव अधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार आयोगले विशेष सक्रियता देखाएको छ ।

निर्वाचनको दिन हुनसक्ने सम्भावित मानव अधिकार उल्लंघनका घटना र सुरक्षा स्थितिको सूक्ष्म निगरानीका लागि आयोगले देशैभर उच्चस्तरीय अनुगमन टोली परिचालन गरेको हो । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाहरूमा आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारीहरू सम्मिलित टोलीले प्रत्यक्ष अनुगमन गर्नेछन् । यसअघि नै निर्वाचन पूर्वको स्थिति अध्ययन गरी सरोकारवालाहरूलाई ध्यानाकर्षण गराइसकेको आयोगले मतदानको दिनलाई ‘मानव अधिकारको सवाल’ को रूपमा व्याख्या गर्दै विशेष तयारी गरेको हो ।

मौन अवधि सुरु भइसकेको संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई धैर्यता र संयमता अपनाउन अपिल गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको मुख्य दायित्व भए पनि यस कार्यमा नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उल्लेख गरिएको छ । प्रवक्ता पोखरेलले सम्पूर्ण मतदाताहरूलाई आफ्नो मताधिकारको निर्धक्क उपभोग गर्न आग्रह गर्दै निर्वाचन प्रक्रियालाई उत्सवको रूपमा लिन र कुनै पनि खालको डर–त्रासबाट मुक्त भई सहभागी हुन अनुरोध गर्नुभएको छ ।

शान्ति सुरक्षाका नाममा आम नागरिकको मानव अधिकारमा असर नपरोस् भन्नेतर्फ सचेत गराउँदै आयोगले सरकारलाई आवश्यक सतर्कता अपनाउन निर्देशन समेत दिएको छ। विशेषगरी निर्वाचनका समयमा स्वास्थ्य सेवा, एम्बुलेन्स, सञ्चार, खानेपानी र इन्धन जस्ता अत्यावश्यक सेवाहरूमा कुनै पनि अवरोध आउन नदिन आयोगले कडा निर्देशन दिएको छ। असक्त मतदाताहरूको सहज पहुँच र हवाई उडान जस्ता महत्वपूर्ण सेवालाई सुचारु राख्दै निर्वाचनलाई मानव अधिकारको उच्चतम मापदण्ड अनुरुप सम्पन्न गराउन आयोगले सम्पूर्ण संयन्त्रहरूलाई परिचालन गरेको छ।


सम्बन्धित समाचार