२३ पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा मधेस प्रदेश सभा सदस्य रहवर अन्सारीले औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका अन्सारीले कोटेश्वरस्थित पेरिसडाँडामा पुगेर आफ्नो राजीनामा पत्र बुझाउँदै माओवादीसँगको लामो राजनीतिक यात्रामा पूर्णविराम लगाएका हुन् । मधेसको राजनीतिमा राम्रो पकड भएका अन्सारीको बहिर्गमनलाई माओवादी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ, जसले पार्टीभित्रको वैचारिक र सांगठनिक संकटलाई पुनः सतहमा ल्याइदिएको छ ।
अन्सारीले आफ्नो राजीनामा पत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको कार्यक्रममा प्रयोग गर्ने चर्चित सायरीलाई व्यङ्ग्यात्मक रूपमा उधृत गरेका छन् । प्रचण्डले भन्ने गरेको ‘सागर के तुफान को भी हमने बस में किया है’ भन्ने हरफहरू अब प्रचण्डको स्मृतिमा मात्र सीमित रहेको भन्दै उनले नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् ।
अन्सारीका अनुसार माओवादी पार्टीले अहिले आफ्नो आधारभूत पहिचान मानिने साहस, इमान र जोखिम मोल्ने क्षमता—यी तीनवटै कुरा गुमाइसकेको छ । पार्टीभित्र देखिएको विरोधाभास र सिद्धान्तहीनताको हिस्सा बनिरहन आफ्नो नैतिकताले नदिने भन्दै उनले विदा लिने निर्णय गरेको उल्लेख गरेका छन् ।
राजीनामा पत्रको अन्त्यमा समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा मागेका अन्सारीले अबको आफ्नो राजनीतिक बाटो के हुने भन्नेबारे भने स्पष्ट खुलाएका छैनन् । यद्यपि, जेन–जी आन्दोलन र पछिल्लो राजनीतिक ध्रुवीकरणका बीच अन्सारी जस्ता युवा नेताले पार्टी छोड्नुले माओवादी केन्द्रलाई मधेस प्रदेशमा ठूलो धक्का लाग्ने निश्चित छ ।
नेतृत्वको कार्यशैली र बदलिँदो राजनीतिक परिवेशमा पार्टीको सान्दर्भिकता हराउँदै गएको बोध भएपछि आफूले सदस्यता त्याग्ने कठोर निर्णय लिएको उनले बताएका छन् ।















