Logo

२६ पौष, काठमाडौँ । इरानमा दुई हप्तादेखि जारी सरकार विरोधी प्रदर्शन थप हिंसात्मक बनेको छ । देशका ३१ वटै प्रान्तका एक सयभन्दा बढी शहर र बस्तीहरूमा आन्दोलन चर्किएपछि इरानी प्रशासनले राजधानी तेहरानसहितका प्रमुख शहरहरूमा इन्टरनेट र टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरिदिएको छ ।

आर्थिक संकट र राजनीतिक स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सुरक्षा बलले कडा दमन सुरु गरेको छ । नर्वेस्थित मानवअधिकारवादी संस्था ‘इरान ह्युमन राइट्स’ (आईएचआर) का अनुसार विगत केही वर्षयताकै गम्भीर मानिएको यस आन्दोलनका क्रममा हालसम्म कम्तीमा ४५ जना प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन् ।

प्रदर्शनकारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र बढ्दो बेरोजगारीको विरोध गर्दै सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको राजीनामा मागेका छन् । आन्दोलनकारीहरूले राजनीतिक सुधारको माग गर्दै निर्वासनमा रहेका पूर्वराजा शाह मोहम्मदका छोरा रेजा पह्लवीलाई सत्तामा फर्काउनुपर्ने नारासमेत लगाउन थालेका छन् ।

युवराज पह्लवीले नागरिकको आवाज दबाउन शासनले क्रूरता प्रदर्शन गरेको भन्दै युरोपेली नेताहरू र अमेरिकी राष्ट्रपतिलाई इरानी शासनलाई जवाफदेही बनाउन अपिल गरेका छन् ।

ट्रम्पको चेतावनी: ‘दमन गरे परिणाम गम्भीर हुने’

इरानको पछिल्लो अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायले चासो र चिन्ता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिकमाथि अत्यधिक बल प्रयोग वा दमन गरिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

इरान सरकारले भने विदेशी शक्तिहरूको उक्साहटमा आन्दोलन भइरहेको आरोप लगाएको छ । इन्टरनेट र सञ्चार सेवा बन्द गरिएका कारण इरानभित्रको वास्तविक अवस्था र हताहतीको थप विवरण प्राप्त गर्न कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै