Logo

१९ माघ,वीरगञ्ज । पर्सा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–९ अन्तर्गत एकटांगा टोलमा सोमबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको दैनन्दिन जीवनसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए।

स्थानीयसँगको अन्तरक्रियामा कानुले आफू केवल मत माग्न नभई जनताको वास्तविक समस्या बुझ्न र तिनको दीर्घकालीन समाधानका लागि स्पष्ट योजना बनाउन आएको बताएका छन्। शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खानेपानी र सुशासनजस्ता विषयमा स्थानीयवासीबाट उठेका आवाजले आफ्नो राजनीतिक एजेन्डा अझ स्पष्ट बनेको उनको भनाइ थियो।

स्थानीय बासिन्दाले क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार, युवाका लागि रोजगारीका अवसर सिर्जना, स्वास्थ्य सेवाको पहुँच विस्तार, सुरक्षित खानेपानीको व्यवस्था तथा प्रभावकारी सुशासनको माग गरेका थिए।

उम्मेदवार कानुले उठाइएका सबै मुद्दाहरूलाई संसद्मा सशक्त रूपमा उठाउने र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, जनतासँग निरन्तर सम्पर्कमा रहँदै विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउँदै आगामी दिनहरूमा पनि यस्ता भेटघाट तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्।


सम्बन्धित समाचार