१९ माघ, काठमाडौं । आगामी निर्वाचनलाई लोकतन्त्रको सुदृढीकरणका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चित्रण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा निकायको भूमिका निर्णायक रहने बताउनुभएको छ ।
सोमबार काठमाडौँमा आयोजित नवनियुक्त प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले फागुन २१ गते हुने निर्वाचनका क्रममा कुनै पनि राजनीतिक दबाब, प्रभाव वा पूर्वाग्रहबाट मुक्त भई व्यावसायिक धर्म निर्वाह गर्न निर्देशन दिनुभयो । सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको वास्तविक सुरक्षा कवच भएको उल्लेख गर्दै प्रधानमन्त्रीले जनतामा सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सधैँ सजग रहनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री कार्कीले फेरिँदो अपराधको प्रकृतिप्रति सुरक्षाकर्मीहरू चनाखो रहनुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार परम्परागत चुनौतीका साथै पछिल्लो समय बढ्दै गएका साइबर अपराध, सङ्गठित वित्तीय अपराध र बहुदेशीय अपराधका नयाँ आयामहरूले सुरक्षा संयन्त्रमा थप दक्षताको माग गरेका छन् । यस्तो जटिल परिस्थितिमा प्रहरी निरीक्षकहरूको भूमिका केवल माथिल्लो निकायको आदेश पालना गर्नेमा मात्र सीमित नरही प्रभावकारी समाधानकर्ताका रूपमा विकसित हुनुपर्ने उहाँको तर्क थियो ।
प्रहरीको विगतदेखि वर्तमानसम्मको सक्रियताले जनस्तरमा विश्वास बढाएको चर्चा गर्दै प्रधानमन्त्रीले नयाँ अधिकृतहरूलाई आफ्नो कार्यकालमा निष्कलङ्क रहेर राष्ट्रसेवामा समर्पित हुन प्रेरित गर्नुभयो । नागरिकको जीउधनको सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारीमा प्रहरी प्रशासनले देखाउने व्यावसायिकताले नै आगामी निर्वाचनको सफलता र लोकतान्त्रिक यात्राको दिशा तय गर्ने उहाँको सन्देश थियो । दीक्षित अधिकृतहरूलाई बधाई दिँदै उहाँले चुनौतीहरूलाई अवसरका रूपमा लिई शान्ति सुरक्षाको क्षेत्रमा नवीन उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

















