१९ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै मधेस प्रदेशमा सुरक्षा रणनीतिलाई अत्यन्तै सुक्ष्म र प्रभावकारी बनाइएको छ ।
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार यस पटकको निर्वाचन विगतको तुलनामा भिन्न र चुनौतीपूर्ण परिवेशमा हुन लागेकाले एकीकृत सुरक्षा योजना २०८२ अन्तर्गत विशेष तयारी थालिएको छ । मधेसका ८ जिल्लामध्ये सर्लाही, रौतहट र सिरहालाई सुरक्षाको दृष्टिकोणले ‘अति संवेदनशील’ जिल्लाका रूपमा वर्गीकरण गरिएको छ । यी जिल्लाहरूमा तीव्र राजनीतिक प्रतिस्पर्धा, सम्भावित धार्मिक विवाद र खुला सिमानाका कारण हुन सक्ने घुसपैठलाई प्रमुख चुनौतीका रूपमा लिँदै सादा पोसाकका प्रहरी र प्रविधि सहितको अतिरिक्त सुरक्षा फौज परिचालन गरिएको छ ।
मधेसका ३२ निर्वाचन क्षेत्रमा यस पटक उम्मेदवारहरूको संख्या र प्रकृतिका कारण पनि सुरक्षा संवेदनशीलता बढेको प्रहरीको विश्लेषण छ । कुल १ हजार २८ उम्मेदवारमध्ये झन्डै ५० प्रतिशत अर्थात् ५५५ जना स्वतन्त्र उम्मेदवार हुनुले चुनावी प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ । डीआईजी थपलियाका अनुसार केही स्वतन्त्र उम्मेदवारहरू विशिष्ट प्रतिस्पर्धीलाई लक्षित गरी मैदानमा उत्रिएकाले उनीहरूको गतिविधिमाथि कडा निगरानी राखिएको छ । यसका साथै हालैका दिनमा देखिएका धार्मिक एजेन्डा र त्यसले निम्त्याउन सक्ने साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै हरेक निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै सुरक्षा योजना लागू गरिएको छ ।
खुला सिमानाका कारण हुन सक्ने साना हतियारको अवैध ओसारपसार र आपराधिक समूहको घुसपैठ रोक्न भारतीय सुरक्षा निकायसँगको समन्वयलाई थप मजबुत बनाइएको छ । सीमावर्ती क्षेत्रमा कडा चेकजाँच र गस्ती बढाइनुका साथै भारतीय समकक्षीहरूसँग नियमित संवाद भइरहेको डीआईजी थपलियाले जानकारी दिनुभयो । यसैबीच, विगतको आन्दोलनका क्रममा लुटिएका हतियारहरू प्रायः सबै बरामद भइसकेको र फरार रहेका १ हजार १४५ कैदीबन्दीमध्ये धेरैजसोलाई नियन्त्रणमा लिइसकिएको छ ।
बाँकी रहेका करिब ३०० फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिँदै निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त फौज तयारी अवस्थामा रहेको छ ।

















