१९ माघ, काठमाडौं । अर्थ मन्त्रालयभित्रै बजेट भत्ताका नाममा राज्यकोषको चर्को दोहन भइरहेको तथ्य फेला परेको छ ।
कुनै ठोस कानुनी आधार बिना नै कार्यसञ्चालन निर्देशिकाको सहारामा वितरण गर्न लागिएको यो भत्ताका कारण आगामी ६ महिनामा सरकारी ढुकुटीमाथि करिब सवा दुई करोड रुपैयाँको अतिरिक्त भार थपिने देखिएको छ । मुलुकको आर्थिक अनुशासन कायम गर्ने मुख्य जिम्मेवारी बोकेको मन्त्रालयले नै कार्यालय समयभन्दा बाहिर केवल दुई घण्टा उपस्थित भएर हाजिर गर्ने कर्मचारीलाई दैनिक ६ सय र सार्वजनिक बिदाका दिन चार घण्टा काम गर्नेलाई ८ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेसँगै कर्मचारीहरूबीच हाजिर गरेर टाप कस्ने संस्कृतिले प्रश्रय पाएको छ ।
संसद् सचिवालयका कर्मचारीले पाउने सुविधालाई नजिर बनाएर अर्थले आफ्नै निर्देशिका त बनाएको छ, तर प्रचलित कानुन र स्वीकृत मापदण्डविना अन्य भत्ता दिन नपाइने प्रावधानलाई भने मन्त्रालय आफैँले कुल्चिएको छ । एकातिर सरकारले खर्च कटौती र मितव्ययिताको नारा घन्काइरहने र अर्कोतिर नीति निर्माणकै केन्द्रमा दुई घण्टे हाजिरकै भरमा करोडौँ बाँडिनुले सुशासनको खिल्ली उडाएको जानकारहरूको तर्क छ।
बजेट निर्माणको विशेष कामका लागि भनिए पनि मन्त्रालयका करिब दुई सय कर्मचारीले यो सुविधा लिइरहेका छन्, जसमा प्रत्यक्ष रूपमा बजेट निर्माणमा संलग्न नभएका कर्मचारीहरूको समेत बाहुल्यता रहेको पाइएको छ । संसद् सचिवालयका कर्मचारीले पाउने सुविधालाई नजिर बनाएर अर्थले आफ्नै निर्देशिका त बनाएको छ, तर प्रचलित कानुन र स्वीकृत मापदण्डविना अन्य भत्ता दिन नपाइने प्रावधानलाई भने मन्त्रालय आफैँले कुल्चिएको छ । एकातिर सरकारले खर्च कटौती र मितव्ययिताको नारा घन्काइरहने र अर्कोतिर नीति निर्माणकै केन्द्रमा दुई घण्टे हाजिरकै भरमा करोडौँ बाँडिनुले सुशासनको खिल्ली उडाएको जानकारहरूको तर्क छ।
मन्त्रालयले कागजमा गोष्ठी र सेमिनारहरू अनलाइनमार्फत गर्नुपर्ने तथा आफ्नै सभाहल प्रयोग गर्नुपर्ने जस्ता कडा मापदण्ड तोके पनि व्यावहारिक रूपमा भने भत्ता वितरण प्रणाली निकै खुकुलो र अपारदर्शी देखिएको छ ।
मन्त्रीस्तरीय र विशिष्ट श्रेणीका बैठकहरूमा समेत मोटो रकम भत्ताका रूपमा खर्च भइरहँदा सर्वसाधारण करदाताको पसिनाबाट संकलित राजस्वको दुरुपयोग भएको भन्दै नैतिक प्रश्न खडा भएको छ । नियमनकारी निकायहरूकै आँखाअगाडि भइरहेको यो संस्थागत दोहनले सरकारी खर्च व्यवस्थापनको गम्भीर विचलनलाई छर्लङ्ग पारेको छ ।

















