Logo

१९ माघ,ठोरी ।नेपाली काङ्ग्रेस ठोरी गाउँ कार्यसमितिका निर्वाचित सभापति सन्तोष श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।

सोमबार रास्वपाले ठोरी गाउँपालिका–विजयवस्तीमा आयोजना गरेको एक कार्यक्रममा श्रेष्ठ औपचारिक रूपमा रास्वपा प्रवेश गर्नुभएको हो। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहनुभएका तथा सामाजिक अभियन्ताको पहिचान बनाइसक्नुभएका श्रेष्ठको रास्वपा प्रवेशसँगै ठोरी क्षेत्रमा रास्वपा अझ मजबुत बन्दै गएको आँकलन गर्न थालिएको छ।

पालिका सभापतिको पार्टी परित्यागपछि ठोरीमा नेपाली काङ्ग्रेसलाई राजनीतिक रूपमा धक्का लागेको विश्लेषण गरिएको छ। विभिन्न सामाजिक कार्यमा क्रियाशील श्रेष्ठ काङ्ग्रेसमा रहँदा शिक्षक पेशाबाट राजनीतिमा सक्रिय हुँदै जनस्तरमा भिजेका वैचारिक नेता मानिनुहुन्छ।

पार्टी प्रवेशको क्रममा श्रेष्ठले नेपाली काङ्ग्रेसले समयअनुसारको परिवर्तन पछ्याउन नसकेको आरोप लगाउँदै पार्टी परित्याग गरेको घोषणा गर्नुभयो।

रास्वपा ठोरी सभापति माधव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दर्जनौं व्यक्तिहरूले नेपाली काङ्ग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेको जानकारी पार्टीका पर्सा क्षेत्र नं. ४ का उम्मेदवार टेकबहादुर शाक्यले दिनुभयो।

पार्टी प्रवेश कार्यक्रमसँगै रास्वपाले ठोरी क्षेत्रमा आफ्नो संगठन विस्तार गर्दै चुनावी प्रचार–प्रसारलाई थप आक्रामक बनाउँदै लगेको जनाएको छ।


सम्बन्धित समाचार