१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो छोटो तर चुनौतीपूर्ण कार्यकालले मुलुकमा भत्किएका संस्थाहरूलाई सुव्यवस्थाको सूत्रमा जोड्न सफल भएको दाबी गर्नुभएको छ ।
सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले २०८२ भदौको जेनजी युवा विद्रोहपछि गठित आफ्नो सरकारले देशलाई संवैधानिक लयमा फर्काउँदै नयाँ आशाको बिउ रोपेको उल्लेख गर्नुभयो । कुनै शासकीय लालसा बिना केवल सङ्कट व्यवस्थापनका लागि जिम्मेवारी सम्हालेको स्पष्ट पार्दै उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिको नयाँ संस्कृति र दिशा तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जेनजी आन्दोलनलाई शासकहरूको संवेदनहीनता र भ्रष्टाचारविरुद्धको ऐनाका रूपमा चित्रण गर्दै प्रधानमन्त्री कार्कीले युवा पुस्ताको डिजिटल चेतना र अवसरको समान पहुँचको आकाङ्क्षालाई अब राज्यका तीनै अङ्गले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो । उहाँले आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूलाई सहिद घोषणा, घाइतेको उपचार र आन्दोलनकारीसँगको ऐतिहासिक सम्झौतालाई सरकारको मुख्य उपलब्धिको रूपमा प्रस्तुत गर्नुभयो । निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको, लुटिएका अधिकांश हतियार बरामद भएको र एकीकृत सुरक्षा योजना लागू भइसकेको जानकारी दिँदै उहाँले स्वच्छ र भयरहित वातावरणमा मतदान गर्न सबै पक्षलाई अपिल गर्नुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले सुशासन र सदाचार भाषणमा मात्र सीमित नभई सार्वजनिक पदाधिकारीको आचरणमा देखिनुपर्ने तर्क गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले मितव्ययिता अपनाएको, अनावश्यक सुविधा त्याग गरेको र नियमनकारी निकायहरूलाई व्यावसायिक स्वतन्त्रता दिएको दाबी गर्दै उहाँले अब सुशासनका लागि नागरिक सडकमा आउनु नपर्ने वातावरण बनाउनु नै राज्यको दायित्व भएको बताउनुभयो । वर्तमानमा प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभाको परिपक्व भूमिकाको प्रशंसा गर्दै उहाँले संरचनात्मक भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि सबै निकाय एकजुट हुनुपर्ने सन्देशसहित आफ्नो कार्यकालको अन्तिम चरणको सम्बोधन टुङ्ग्याउनुभयो ।

















