२० माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारीलाई तीव्र बनाएको छ । पार्टीको निर्वाचन परिचालन समितिको सचिवालय बैठकले छिट्टै चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गर्दै संगठन, प्रचारप्रसार र व्यवस्थापनका महत्वपूर्ण खाका तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले नेताकार्यकर्ता परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्र सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया व्यवस्थापनलगायत विषयमा निर्णय गरेको पार्टी सचिवालयले जनाएको छ ।
बैठकमा संयोजक दाहालले समसामयिक राजनीतिक अवस्था र निर्वाचनको समग्र दिशाबारे धारणा राख्दै पार्टीलाई अनुशासित, संगठित र जनमुखी ढंगले अघि बढाउन आग्रह गरेका थिए । सचिवालय सदस्यहरूले निर्वाचन तयारी, क्षेत्रगत अवस्था र राजनीतिक परिवेशबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन बैठकले प्रदेशगत जिम्मेवारीसमेत तोकेको छ । कोशी प्रदेशको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ भने मधेस प्रदेशमा अग्नि साप्कोटा, बागमतीमा राजेन्द्र श्रेष्ठ, गण्डकीमा देव गुरुङ, लुम्बिनीमा पम्फा भुसाल, कर्णालीमा प्रमेश हमाल र सुदूरपश्चिममा रञ्जिता श्रेष्ठलाई निर्वाचन अनुगमन तथा समन्वयको जिम्मा दिइएको छ ।
यस्तै, निर्वाचन प्रचारलाई सशक्त बनाउन अग्नि साप्कोटाको नेतृत्वमा जगन्नाथ खतिवडा र गोविन्द आचार्य सदस्य रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको छ । उक्त समितिले विभिन्न पक्षसँग परामर्श गरी प्रचार रणनीतिलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरिएको जनाइएको छ ।
बैठकले निर्वाचनका लागि औपचारिक अपिल छिट्टै सार्वजनिक गर्ने र निर्वाचन परिचालन कमिटीको अर्को बैठक आगामी माघ २२ गते बस्ने निर्णयसमेत गरेको छ । नेकपाले यी निर्णयसँगै निर्वाचन अभियानलाई देशव्यापी रूपमा तीव्र बनाउने संकेत दिएको छ ।
















