Logo

५ चैत,काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दललाई संसदीय दलका लागि कार्यालय उपलब्ध गराएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बिहीबारदेखि दलहरूलाई कार्यालय हस्तान्तरण गरिएको हो। सीमित स्रोतसाधनका बाबजुद व्यवस्थापन गरिएको उल्लेख गर्दै उनले दलका प्रतिनिधिहरूलाई कार्यालयको प्रत्यक्ष अवलोकनसमेत गराइएको जानकारी दिए।

सचिवालयका अनुसार सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसअघि नेपाल कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ भने अन्य दलहरूलाई उनीहरूको प्रतिनिधित्व संख्याका आधारमा कार्यालय बाँडफाँट गरिएको छ।

यसैबीच, सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्ने तयारी गरेको छ। शपथग्रहण अघि ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइने र त्यसपछि सोही सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने प्रक्रिया रहने प्रवक्ता गिरीले बताए।

निर्वाचन आयोगबाट अन्तिम परिणाम प्राप्त भएपछि ज्येष्ठ सदस्यको पहिचान गरिने र शपथग्रहणका लागि तीन जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिनेछ। तीमध्ये सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ गराउनेछन्।

सचिवालयले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग शपथग्रहण, कार्यालय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमबारे छलफलसमेत गरेको थियो। छलफलमा दलहरूले सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा केन्द्रित तालिम आवश्यक रहेको सुझाव दिएका छन्। सचिवालयले सोही आधारमा अभिमुखीकरण कार्यक्रमको स्वरूप तय गर्ने जनाएको छ।


सम्बन्धित समाचार