७ चैत्र माडी । चितवनको माडी नगरपालिका पछिल्लो समय आफ्नै नारालाई व्यवहारमा उतार्दै वातावरण संरक्षणतर्फ उल्लेखनीय कदम चालिरहेको छ।
“सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर” भन्ने मूल नारालाई आत्मसात् गर्दै यहाँका टोल विकास संस्था, आमा समूह, युवा क्लब तथा स्थानीयवासीहरू प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने अभियानमा सक्रिय देखिएका छन्।
विशेषगरी प्लास्टिकका डस्टबिनलाई निरुत्साहित गर्दै घरआँगन, बाटोका दायाँबायाँ, चोक, मठमन्दिर जस्ता सार्वजनिक स्थलहरूमा राखिएका प्लास्टिकका भाँडाहरू हटाउने अभियान तीव्र बन्दै गएको छ। यसको सट्टा स्थानीय स्तरमै पाइने बाँसबाट निर्मित वातावरणमैत्री डस्टबिनहरू प्रयोग गर्ने अभ्यास विस्तार हुँदै गएको छ, जसले माडीलाई सफा र हरित बनाउने दिशामा सकारात्मक सन्देश दिएको छ।
यसै अभियानलाई सार्थकता दिन माडी नगरपालिका–७ देवेन्द्रपुरका स्थानीय टिल बहादुर गुरुङ अग्रपंक्तिमा देखिएका छन्। पेशाले कृषक रहेका गुरुङले स्थानीय क्षेत्रमा उत्पादन भएका बाँस संकलन गरी डोका, थुन्से, मान्द्रो, कोर्को लगायत घरायसी प्रयोजनका सामग्री निर्माण गर्दै आएका छन्। उनी फुर्सदको समयलाई सिर्जनशील कार्यमा रूपान्तरण गर्दै दैनिकजसो बाँसका सामग्री बुन्ने गर्छन्।
गुरुङका अनुसार आफूले बनाएका सामग्री बजारमा लान नपर्ने अवस्था छ, स्थानीयवासीहरू आफैं घरमै आएर ती सामग्री लिएर जान्छन्। “मैले बनाएका सामानहरू यहाँ थन्क्याएर राख्नै पर्दैन, बुनिसक्ने बित्तिकै मानिसहरू आएर लैजानुहुन्छ,” उनले भने। यसले स्थानीय उत्पादनप्रति जनविश्वास बढ्दै गएको संकेत गर्छ।
प्लास्टिकजन्य सामग्रीको प्रयोगले दीर्घकालीन रूपमा वातावरणमा नकारात्मक असर पार्ने कुरालाई ध्यानमा राख्दै गुरुङजस्ता सिपालु व्यक्तिहरूले बाँसका सामग्रीको प्रयोगलाई प्रोत्साहन दिएका छन्। प्लास्टिकका सामग्री दुई–तीन वर्षमै फुट्ने, टुक्रिने र जथाभावी फालिँदा जमिन प्रदूषित हुने समस्या रहेको छ। तर बाँसबाट बनेका सामग्री भने प्रयोगपछि कुहिएर मलका रूपमा परिणत हुने भएकाले माटोको उर्वराशक्ति बढाउनसमेत सहयोग पुर्याउँछन्।
स्थानीय स्रोत, साधन र सीपको उपयोगले वातावरण संरक्षणसँगै आर्थिक तथा सामाजिक पक्षमा पनि सकारात्मक प्रभाव पारिरहेको छ। यसले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने, सीपको संरक्षण र हस्तान्तरण गर्ने तथा आयआर्जनको माध्यम बन्ने अवसर प्रदान गरेको छ। गाउँका अन्य व्यक्तिहरूले पनि गुरुङसँग सिक्न आउने गरेका छन्, जहाँ उनले काम गर्दै सिकाउने गरेका छन्। यसरी सीपको आदानप्रदानले समुदायमा आत्मनिर्भरता र सहकार्यको भावना समेत विकास भइरहेको छ।
टिलबहादुर गुरुङ मात्र होइन, देवेन्द्रपुरसहित माडीका विभिन्न गाउँहरूमा धेरै स्थानीयवासीहरूले डोका, गुन्द्री, टोकरी लगायत बाँसका सामग्री बुन्दै आएका छन्। ती सामग्री घरायसी प्रयोजनका साथै टोल विकास संस्था र सामुदायिक कार्यहरूमा समेत प्रयोग भइरहेका छन्। यसले प्लास्टिकको विकल्प मात्र होइन, परम्परागत सीपको संरक्षण र प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ।
यस विषयमा माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले स्थानीयवासीहरूको यस्तो प्रयास राम्रो र प्रेरणादायी भएको बताउनुभयो। उहाँले टोल विकास संस्था, आमा समूह र युवा क्लबहरूले वातावरण जोगाउन देखाएको सक्रियता आफूले नजिकबाट हेरेको उल्लेख गर्नुभयो। साथै आगामी दिनमा यस्ता साना तथा मझौला उद्योगलाई नगरपालिकाले अझ प्रोत्साहन गर्ने कुरा पनि उहाँले उल्लेख गर्नुभयो।
उहाँका अनुसार स्थानीय स्रोत, साधन र सीपको प्रयोगले दिगो विकासमा सहयोग पुग्नेछ। वातावरणमैत्री अभ्यासले माडीलाई अझ सफा, हरित र आकर्षक बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
यसरी माडी नगरपालिका अहिले प्लास्टिकमुक्त अभियानलाई जनस्तरबाटै अघि बढाउँदै, आफ्नै पहिचानअनुसारको इको–मैत्री नगरको रूपमा रूपान्तरण हुने यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको छ।


















