Logo

६ चैत, काठमाडौं । नेपाली कांग्रेसभित्र बारा जिल्लामा निर्वाचनपछिको विवाद चर्किँदै गएको छ। बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका श्यामबाबु गुप्ताले पार्टीकै जिल्ला सभापति राजेश राय यादवसहित सात जनामाथि कारबाहीको माग गर्दै केन्द्रीय नेतृत्वसमक्ष उजुरी दिएका छन्।

गुप्ताले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै ती नेताहरूलाई पार्टी सदस्यताबाट निलम्बन गर्न माग गरेका हुन्। उनले आफ्नो उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीलाई समेत दोषी ठहर गरेका छन्। पत्रमा उनले “निर्वाचन हराउनका लागि सक्रिय भूमिका खेलेको” आरोप उल्लेख गरेका छन्।

यसैगरी, क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ (ख) का सभापति सुमनकुमार भट्टराई तथा जितपुर–सिमरा नगर कार्यसमिति सभापति छाबिलाल शर्मामाथि पनि कारबाही हुनुपर्ने माग गरिएको छ।

यो पहिलो घटना भने होइन। यसअघि बारा–२ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि जिल्ला सभापति राजेश राय यादवलाई पार्टीबाट निष्कासन गर्न माग गरेका थिए। त्यस्तै, बारा–३ क्षेत्रीय कार्यसमितिले समेत जिल्ला सभापतिसहित १६ जनामाथि निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै केन्द्रमा सिफारिस गरिसकेको छ।

लगातार उजुरी र कारबाही माग बढ्दै जाँदा बारा कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको देखिन्छ। अब केन्द्रीय नेतृत्वले यस विषयमा कस्तो निर्णय लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।


सम्बन्धित समाचार