६ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूको नाम तय गर्ने तयारी सुरु गरेको छ। बिहीबार साँझ काठमाडौंको एक होटलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालबीचको संवादपछि शुक्रबारबाट सम्भावित मन्त्रीहरूको बारेमा छलफल अघि बढाइएको हो।
पार्टीको भित्री स्रोतका अनुसार केही मन्त्रालयमा दुवै पक्षबाट एउटै व्यक्तिको नाम आएको छ भने अन्य मन्त्रालयमा अझै नाम फाइनल हुन बाँकी छ।
‘दुवै नेताले केही मन्त्रालयका लागि एउटै व्यक्तिलाई समर्थन गर्नुभएको छ। अन्य मन्त्रालयका पात्रबारे छलफल जारी छ। बिहीबार साँझदेखि यो प्रक्रिया सुरु भएको हो,’ पार्टीका एक नेताले जानकारी दिनुभयो। ‘आज दिउँसो थप छलफल गर्ने योजना बनाइएको छ।’
बिहीबारको छलफलमा मन्त्रालयमा पठाइने व्यक्ति, संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतकमा कानुनी बुझाइ भएका व्यक्ति चयन गर्नुपर्ने विषयमा चर्चा भएको थियो।
पार्टीले मन्त्रीपदसँगै सभामुख, प्रमुख सचेतक, सचेतक र संसदीय दलको उपनेताको जिम्मेवारी पनि कसलाई दिने भन्ने विषयमा विचार गरिरहेको छ। यस क्रममा सभामुख र प्रमुख सचेतक पदमा नेतृत्व क्षमता भएका व्यक्तिलाई जिम्मेवारी दिने आवाज उठिरहेको छ।

















