Logo

६ चैत,चितवन । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा ११ महिनामा १२ हजार ४१२ बढी पर्यटकले भ्रमण गरेका छन्।

गत वर्ष सोही अवधिमा १ लाख ५६ हजार २८३ पर्यटक आएका थिए भने यस वर्ष १ लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्जको यात्रा गरेका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, फागुन मसान्तसम्ममा १ लाख ४ हजार ९६ नेपाली पर्यटकले भ्रमण गरेका थिए। यो सङ्ख्या गत वर्ष ८१ हजार २४६ थियो। सार्क मुलुकका पर्यटक ९ हजार ५४४ पुगेका छन् भने अन्य देशबाट ५५ हजार ५५ पर्यटक आएका छन्। गत वर्ष सोही क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो।

निकुञ्जमा पर्यटकहरू एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोही लगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न आउँछन्।

चालु आर्थिक वर्षमा निकुञ्जले कुल १७ करोड ५७ लाख ५६ हजार ३२५ रुपैयाँ राजस्व संकलन गरेको छ। यसमा काठ दाउरा बिक्रीबापत ७१ हजार ३५०, गैरकाठ वन पैदावार बिक्रीबापत ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट ७ लाख ५९ हजार ७०४ र अन्य स्रोतबाट १५ लाख २२ हजार ४०५ रुपैयाँ संकलन भएको छ।

निकुञ्जले पर्यटक आकर्षण र वन्यजन्तु संरक्षणमा निरन्तर काम गर्दै आएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै