७ चैत,बुटवल । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
आज बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो। सम्भावित झडप रोक्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना नआउञ्जेलसम्म कुनै भेला, सभा वा जुलुस गर्न नपाइने गरी निषेधाज्ञा लागू गरेको छ।
प्रशासनका अनुसार पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको छ।
झडप राम नवमी र इदको अवसरमा मन्दिर तथा मस्जिदमा माइकको आवाज चर्को भएपछि सुरु भएको थियो। झडपका क्रममा ढुंगा प्रहार भएको र ५ जना सामान्य घाइते भएका छन्।
मुख्य जिल्ला अधिकारी भविश्वर घिमिरे का अनुसार निषेधाज्ञा जारी भएपछि स्थिति नियन्त्रणमा आइसकेको छ।

















