७ चैत,काठमाडौं । भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियानलगायतका युवा समूहले आयोगको प्रतिवेदन लुकाउने प्रयास भइरहेको आशंकासहित प्रदर्शन गरेको जनाएको छ। उनीहरूले “जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस?” र “कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर” जस्ता नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
युवाहरूले जेनजी शहीद र घाइतेहरूमाथि अन्याय हुन नदिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने र भाद्र २३–२४ का घटनामा दोषी देखिएका व्यक्तिहरूलाई कारवाही गर्नुपर्ने माग राखेका छन्।
जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको भए पनि हालसम्म सार्वजनिक नभएकाले युवा समूहले असन्तुष्टि व्यक्त गरेको छ।

















