Logo

७ चैत,काठमाडौं । चैत ५ र ६ गते कैलालीको टीकापुर क्षेत्रमा परेको वर्षा र असिनाले दलहन बालीमा ठूलो क्षति पुर्‍याएको छ। पाकेर काट्न तयार भएको मुसुरो र केराउ भिजेर बिग्रँदा किसानले ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको छ।

टीकापुर नगरपालिका–२, राजीपुरका अर्जुन ठकुल्लाले भने, “उखेलेको मुसुरो खेतमै थियो, अचानक पानी परेपछि सबै भिज्यो। पालले छोप्दा पनि पूरै ढाक्न सकिएन।” अन्य किसानहरूले पनि पाकेको मुसुरो र केराउ छिटो उखेल्न बाध्य भएको बताएका छन्।

वर्षासँगै चलेको हावाहुरीले भर्खरै बाला लागेको गहुँ बाली समेत ढालेको छ। टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकका अनुसार बेमौसमी वर्षाले वसन्ते मकै, लहरे तरकारी र अरहर जस्ता बालीलाई फाइदा पुगे पनि पाकेको मुसुरो र केराउमा नोक्सानी भएको छ।

महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार उक्त क्षेत्रमा बिहीबार बिहानदेखि शनिबार बिहानसम्म १२ मिलिमिटर वर्षा मापन गरिएको थियो।


सम्बन्धित समाचार