Logo

फाइल तस्वीर

८ चैत,वीरगञ्ज । तराई मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्ब विधिवत रुपमा आज (आइतबार)देखि सुरु भएको छ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट व्रतालुले आरम्भ गरेका छन्।

पर्वको पहिलो दिन श्रद्धालुहरूले पवित्र जलाशयमा स्नान गरी व्रत सङ्कल्प लिन्छन् र चोखोनीतो भोजन गर्ने परम्परा छ। छठ वर्षमा दुई पटक—शरद ऋतु (कात्तिक) र वसन्त ऋतु (चैत)—मा मनाइने सूर्य उपासनाको महत्वपूर्ण पर्व हो। यद्यपि कात्तिक महिनामा मनाइने छठको तुलनामा चैती छठ कम धूमधामका साथ मनाइने गरेको पाइन्छ।

चार दिनसम्म चल्ने यस पर्वमा दोस्रो दिन ‘खरना’ विधिअनुसार दिनभरि उपवास बसेपछि साँझ सख्खरमा पकाइएको खिर सेवन गरिन्छ। तेस्रो दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ्य दिइन्छ, जसलाई ‘सँझिया घाटको अर्घ्य’ भनिन्छ। अन्तिम दिन सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि ‘भोरघाटको अर्घ्य’ र ‘पारन’सँगै पर्व समापन गरिन्छ।

छठ पर्वमा ठेकुवा, केरा, उखु, सुन्तला, निमुवा, बोडी, सुथनी र मुला लगायतका फलफूल तथा हरिया तरकारीहरू अर्घ्यका रूपमा सूर्यदेवतासमक्ष अर्पण गरिन्छन्। सूर्य र सूर्यपत्नी षष्ठीको पूजा गरिने यस पर्वले मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ।

मधेस क्षेत्रमा विशेष महत्वका साथ मनाइने छठलाई जनजनको सहभागितासहितको महापर्वका रूपमा लिने गरिन्छ।


सम्बन्धित समाचार