८ चैत,काठमाडौं । गण्डकी प्रदेश सभाको नवौं अधिवेशन आइतबारदेखि सुरु भएको छ। जेनजी आन्दोलनपछि असोज ७ गते आठौं अधिवेशन अन्त्य भएको थियो। नदीपुरस्थित प्रदेश सभा भवन जलेर ध्वस्त भएपछि, मालेपाटनस्थित कृषि मन्त्रालयको हललाई सभागृहको रूपमा प्रयोग गरिएको छ।
नवौं अधिवेशनको पहिलो बैठकले एमालेका पूर्वसांसद कृष्ण थापाको शोक प्रस्ताव पारित गरी केहीबेरका लागि स्थगित गरिएको छ। आगामी बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने र प्रादेशिक सडक सम्बन्धी संशोधनको विधेयक पेश गर्ने तयारी छ।
एमालेका पूर्वसांसद कृष्ण थापा फागुन २८ गते कार्यक्रममा सहभागी हुँदा हृदयघातका कारण निधन भएका थिए। थापा २०७४ सालमा कास्की–२ (ख) बाट निर्वाचित भएका थिए र पूर्वमा पोखराका मेयर समेत रहिसकेका थिए। उनी अहिले एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्जसमेत थिए।
कास्कीमा हक्की नेताको रूपमा परिचित थापाले २०७९ को मेयर पदको निर्वाचनमा पराजित भए पनि राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए। प्रदेश सभाले उनको निधनले अपुरणीय क्षति पुगेको भन्दै शोक प्रस्ताव पारित गरेको छ।

















