८ चैत,काठमाडौं । नेपाली कांग्रेसमा पुन: विवाद बल्झिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको अवस्थामा, शेरबहादुर देउवा र शेखर कोइराला समूहले छुट्टै केन्द्रीय समिति बैठक बोलाएको छ।
देउवा–कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। आज बिहान नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा धुमबाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो।
तर, देउवा–कोइराला समूहको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सहभागी हुने छैनन्। यसअघि पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेकाले उनीहरूलाई बैठकमा बोलाइएको छैन।
यसैबीच, देउवा–कोइराला समूहले पार्टीको विशेष महाधिवेशनविरुद्ध अदालतमा दायर गरेको मुद्दा विचाराधीन रहेको छ।
आजको कार्यसम्पादन समिति बैठकमा खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डे लगायत नेताहरू सहभागी थिए।

















