९ चैत,काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुहरूको उत्खनन अनुमति प्रदान गरेको छ।
विभागले स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गरी देशको औद्योगिक उत्पादन र आर्थिक वृद्धि गर्ने उद्देश्यले अनुमति दिएको जनाएको छ।
सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार, अनुमति पाएका खनिजहरूमा टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामा रहेका छन्। हालसम्म निजी तथा स्वदेशमा दर्ता भएका १६६ कम्पनीलाई आवश्यक प्रक्रिया पूरा गरेपछि अनुमति दिइएको छ।
विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव, दर्ता तथा उत्पादनको अनुपातमा राजस्व सङ्कलन र स्थानीय लाभ सुनिश्चित हुने सर्तहरू तोकेको छ। करिब एक सय चुनढुङ्गा खानीले पनि उत्खनन अनुमति पाएका छन्।
तर, भौगोलिक विकटता, यातायात अभाव, पुँजी र आधुनिक प्रविधिको कमी, नीतिगत चुनौती र लगानीमैत्री वातावरण नबनुका कारण खनिज उत्खनन अझै चुनौतीपूर्ण रहेको विभागले जनाएको छ। धेरै खनिज पदार्थ दुर्गम र भिरालो क्षेत्रमा रहेका हुँदा उत्खनन र ढुवानीमा पनि कठिनाइ देखिएको छ।

















