Logo

९ चैत,काठमाडौं । भावी प्रधानमन्त्री बालेन्द्र साह ले सरकार गठनको पुरानो शैली तोड्दै शपथ लिएकै दिन पूर्ण आकारको मन्त्रिपरिषद् घोषणा गर्ने तयारी गरेका छन्। विगतमा जस्तै चरणबद्ध विस्तार गर्ने परिपाटी अन्त्य गर्ने उनको योजना रहेको स्रोतले जनाएको छ।

करिब दुई तिहाइ समर्थनसहित बलियो सरकारको नेतृत्व गर्न लागेका साहले सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउने लक्ष्य राखेका छन्। हाल रहेका २२ मन्त्रालयलाई घटाएर करिब १५ मा झार्ने गृहकार्य भइरहेको छ। सुरुआतमा १२ मन्त्रालयमा सीमित गर्ने सोच भए पनि आन्तरिक छलफलपछि १५ मन्त्रालय उपयुक्त हुने निष्कर्षमा पुगेको बताइएको छ।

मन्त्रीहरूको संख्या भने १८ मा सीमित राख्ने तयारी छ। संविधानअनुसार प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने भए पनि साह सानो र चुस्त टोलीमार्फत काम गर्ने पक्षमा देखिएका छन्। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अझ सुदृढ बनाउने योजना पनि अघि सारिएको छ।

स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल लगभग तय भइसकेका छन्। अन्य मन्त्रालयका लागि प्रारम्भिक छलफल भए पनि अन्तिम निर्णय हुन बाँकी छ।

मन्त्री चयनमा क्षमता, विशेषज्ञता र नैतिकतालाई प्राथमिकता दिने नीति लिइएको छ। रवि लामिछाने सँग यस विषयमा उच्चस्तरीय समझदारी रहेको स्रोतले जनाएको छ। ‘आफन्तवाद होइन, योग्यता र आचरणका आधारमा मन्त्री छनोट गरिनेछ,’ स्रोतको भनाइ छ।

प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिने चर्चा भए पनि समानुपातिकतर्फबाट आउनेलाई पूर्ण रूपमा निषेध नगर्ने स्पष्ट पारिएको छ। पार्टी नेतृत्वले मन्त्री बन्ने दौडधुप, व्यक्तिगत लबिङ र ‘मिडिया ट्रायल’ रोक्न निर्देशन दिएपछि यस्तो गतिविधि अहिले थामिएको छ।

प्रधानमन्त्री साहको शपथ १३ चैतमा हुने तय भएको छ। १२ चैतमा सांसदहरूको शपथ गराइने तालिका बनाइएको छ। औपचारिक पत्राचार भने हुन बाँकी रहेको जनाइएको छ।

शपथपछि मन्त्रीहरूलाई समेत तत्काल जिम्मेवारी दिइनेछ र सरकारले पहिलो दिनदेखि नै पूर्ण क्षमतामा काम सुरु गर्ने लक्ष्य राखेको छ। उच्च जनमतका कारण सरकारमाथि ‘डे वान’ बाटै परिणाम दिनुपर्ने दबाब रहेको छ।

कार्यसम्पादन कमजोर देखिए वा अनियमिततामा मुछिए मन्त्रीलाई तत्काल पदमुक्त गर्ने कडा नीति अपनाइने संकेत समेत साहले दिएका छन्। यो सरकारलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।


सम्बन्धित समाचार