९ चैत,काठमाडौं । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६.२९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड २ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रदेश सरकारका लागि मुख्य आय स्रोत मानिने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा अपेक्षा अनुसार राजस्व संकलन हुन सकेको छैन। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म प्रदेश सरकारले ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
बाग्मती प्रदेशका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेलका अनुसार, लक्ष्यको तुलनामा ४५.१३ प्रतिशत अर्थात् १३ अर्ब ९३ करोड ९७ लाख १५ हजार रुपैयाँ मात्र संकलन भएको छ।
विभाग अनुसार, घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट चालु आवमा सात अर्ब ७० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा पहिलो आठ महिनामा दुई अर्ब ५६ करोड २ लाख ४ हजार मात्रै संकलन भएको छ।
सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारी चालक अनुमतिपत्र वितरण तथा नवीकरण अन्तर्गत आठ अर्ब २५ करोड रुपैयाँ राजस्वको लक्ष्य राखिएकोमा चार अर्ब ४४ करोड ९३ लाख ४० हजार रुपैयाँ संकलन भएको छ।
बाँडफाँडबाट प्राप्त मूल्य अभिवृद्धि करको आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार अनुमानित राजस्वमध्ये पाँच अर्ब ४ करोड ६५ लाख १७ हजार संकलन भएको छ भने अन्तःशुल्क करबाट चार अर्ब ३ करोड ७९ लाख ९ हजारमध्ये एक अर्ब ७५ करोड ३ लाख ३६ हजार मात्रै प्राप्त भएको मन्त्रालयले जनाएको छ।
सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान अन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँको अनुमान रहेकोमा आठ महिनामा ५३.६० प्रतिशत अर्थात् सात अर्ब ९४ करोड २७ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको छ।
प्रदेशको आन्तरिक स्रोतबाट राजस्व संकलनमा चार अर्ब ७७ करोड ७४ लाख २५ हजारको अनुमान रहेकोमा आठ महिनामा ५२.३५ प्रतिशत अर्थात् दुई अर्ब ५० करोड १२ लाख १८ हजार मात्र संकलन भएको छ।
अधिकृत पौडेलका अनुसार, आर्थिक तरलताको कमी, घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्रीमा आएको गिरावट, र गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षति लगायत कारणले अपेक्षित राजस्व संकलन हुन नसकेको हो।


















