Logo

९ चैत,वीरगञ्ज । म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य (सांसद) निर्वाचित डा. महावीर पुनले आफ्नो आत्मकथा किताब बिक्रीका लागि वीरगञ्जको घण्टाघर चोक पुगेका छन्। आइतबार साँझ वीरगञ्ज आइपुगेका पुनले सोमबार बिहान ८ देखि ११ बजेसम्म १ सय ५० थान किताब बिक्री गरेका छन्।

डा. पुनले आफू मंगलबार साँझसम्म वीरगन्ज कृषि औजार कारखानामा रहने भएकाले किताब किन्न इच्छुक व्यक्तिहरू त्यहाँ पनि सम्पर्क गर्न सक्ने जानकारी दिएका छन्। उनले भने, “चुनावपछिको फुर्सदको समय सदुपयोग गर्न विभिन्न जिल्लामा किताब बिक्री गर्दै हिँडिरहेको छु। अब संसद बैठक नभएको बेलामा किताब बेच्दै, बैठक हुँदा सांसदको रूपमा काम गर्नेछु।”

डा. पुनले किताब बेचेर प्राप्त रकमबाट वीरगन्ज कृषि औजार कारखाना ठूलो र आधुनिक बनाउने योजना रहेको बताएका छन्। उनले अघिल्लो पटक २०८१ साल भदौ अन्तिम साता वीरगन्ज आएर ९ दिनको बसाइँमा दुई हजार थान किताब बिक्री गरेका थिए।

डा. पुनका अनुसार उनले सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नु अघि लगातार ५ सय २६ दिन देशभर किताब बिक्री गर्दै करिब २ लाख ५० हजार थान किताब बेचेर १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए। उक्त रकमले वीरगन्ज कृषि औजार कारखाना सञ्चालनमा आएको हो।

वीरगन्ज कृषि औजार कारखाना करिब दुई दशकदेखि बन्द रहेको थियो। सोभियत संघको सहयोगमा विक्रम संवत २०२१ सालमा स्थापित सरकारी स्वामित्वको कारखाना निरन्तर घाटामा गएको कारण २०५९ सालमा पूर्ण रूपमा बन्द गरिएको थियो।

सरकारको निर्णयअनुसार २०७९ भदौ ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई कारखाना सञ्चालन जिम्मा दिइएको थियो। त्यसपछि आविष्कार केन्द्र र अर्थ मन्त्रालयबीच २०७९ असोज ११ मा सम्झौता भएको थियो। तर आवश्यक बजेट उपलब्ध नहुँदा डा. पुनले आफ्नै किताब बिक्री अभियानमार्फत आवश्यक रकम जुटाएका थिए।

हाल आविष्कार केन्द्रले मर्मतसम्भार गरी कारखानामा ५ दर्जनभन्दा बढी प्रकारका कृषि औजार उत्पादन गर्दै बिक्री वितरण गर्दै आएको छ।


सम्बन्धित समाचार