९ चैत,वीरगञ्ज । सापटी दिएको पैसा फिर्ता माग्दा रौतहटको कटहरिया नगरपालिका–८, पिप्रापोखरिया क्षेत्रमा आमा–छोरीमाथि निर्घात कुटपिट भएको छ।
४५ वर्षीय भागमणी देवीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल यादवले कुटपिट गरेको पीडित परिवारले जनाएको छ। घटनाको प्रारम्भ सापटी विवादबाट भएको थियो। छोटेलालले केही महिनाअघि भागमणीसँग १ लाख २० हजार रुपैयाँ सापटी लिएर घर पुगेका थिए।
आइतबार एक व्यक्तिले छोटेलाललाई १० हजार रुपैयाँ ई–सेवामा पठाएपछि भागमणीले बाँकी रकम १ लाख १० हजार रुपैयाँ दिन आग्रह गरेकी थिइन्। यसमा विवाद चर्किंदै छोटेलालले बाँसको लाठी प्रहार गर्दै भागमणी र उनकी १० वर्षीय छोरी रबिता कुमारीमाथि कुटपिट गरेका थिए।
कुटपिटमा रबिताको देब्रे हात भाँचिएको छ भने भागमणीको देब्रे हातमा गम्भीर चोट लागेको छ। उनीहरूको शरीरमा पिठ्यु र तिघ्रा समेतमा निलडाम देखिएको छ। छोटेलालले भागमणीको भैंसी र बाख्रालाई पनि कुटपिट गरी मरणासन्न बनाएको आरोप छ।
पीडित परिवारका सदस्य झगरु यादवले घाइते आमा–छोरीलाई कटहरिया बजारस्थित निजी अस्पतालमा उपचारका लागि लगाएका थिए।
पत्रकार सम्मेलनमा भागमणीले गाउँकै एक जनप्रतिनिधिले आफ्नो श्रीमानलाई उजुरी नगर्न दबाब दिएको र ‘गाउँमै मिलाइदिन्छु’ भन्दै धम्की दिएको गुनासो गरेकी छिन्। उनले भने कि यसअघि पनि छोटेलालबाट पटक–पटक कुटपिट भएको भए पनि दबाबका कारण न्याय पाउन सकिन।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
पीडित परिवारले यसपटक न्यायको लागि सञ्चार माध्यममार्फत पहल गरिदिन अनुरोध गरेका छन्।

















