Logo

१० चैत, वीरगञ्ज । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठ अन्तर्गत आज (मंगलबार) मुख्य दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइँदैछ ।

चार दिनसम्म अत्यन्त नियम र संयमका साथ मनाइने यस पर्वको तेस्रो दिन आज बर्तालुहरूले निराहार उपवास बसेर साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यदेव अर्थात् दिनानाथलाई अर्घ्य अर्पण गर्ने कार्यक्रम छ।

वीरगञ्जका ऐतिहासिक घडिअर्वा पोखरी, मूर्ली पोखरी, नगवा पोखरी, रानीघाट र स्वीमिङ्ग पुल लगायतका जलाशयहरूलाई यस अवसरमा दुलही झैँ सिँगारिएको छ, जहाँ श्रद्धालुहरूको ठूलो घुइँचो लाग्दछ ।

चैती छठको पहिलो दिन ‘नहाय-खाय’ बाट सुरु भएको यो पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गरेका थिए । आज षष्ठी तिथिका दिन ‘सझिँया घाट’ को विशेष उल्लास छ, जहाँ सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै बर्तालुहरू जलाशयमा प्रवेश गरी छठी माताको ध्यान गर्दै प्रसादका रूपमा ठकुवा, भुसुवा, मुला, उखु, भन्टा, केरा र नरिवल जस्ता सामग्रीहरू चढाउने गर्दछन् । चैती छठ गर्नाले मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोगहरूबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

कात्तिकमा मनाइने छठको तुलनामा चैती छठ मनाउनेहरूको संख्या केही कम भए पनि पछिल्ला वर्षहरूमा यसको आकर्षण र सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ ।

आज रातभर जलाशय किनारमा जागरण बसी भोलि बुधबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि यो महापर्व विधिवत् रूपमा समापन हुनेछ। जलाशयहरूमा गरिएको आकर्षक सजावट र सुरक्षा व्यवस्थाले वीरगञ्जको वातावरण यतिबेला भक्तिमय र उत्सवमय बनेको छ।


सम्बन्धित समाचार
भर्खरै