१० चैत,चितवन। जिल्लाका दुग्ध उत्पादक किसानले बिक्री गरेको दूधको भुक्तानी पाउन समस्या भोगिरहेका छन्। हालसम्म उनीहरूले ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाएका छैनन्।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगाले का अनुसार, गत कात्तिकदेखि दुग्ध विकास संस्थान र ठूला दूध उद्योगहरूले समयमै भुक्तानी नगर्दा किसानहरू आर्थिक रूपमा समस्या भोगिरहेका छन्। उनले बताए, “संस्थानको ६ महिनादेखि र अन्य ठूला उद्योगको तीन महिनादेखि भुक्तानी बाँकी छ। साना उद्योगले नियमित रूपमा भुक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भुक्तानी अझै बाँकी छ।”
चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन भइरहेको छ। यसमध्ये करिब ५० प्रतिशतभन्दा बढी दूध जिल्ला बाहिरका उद्योगमा बिक्री वितरण गरिन्छ। जिल्लाका ११५ दुग्ध उत्पादक सहकारीले दैनिक रूपमा दूध सङ्कलन गरी ठूला उद्योगमा बिक्री वितरण गर्दै आएका छन्।
सहकारीले समयमा भुक्तानी नपाउँदा किसानहरूलाई आफ्नै खर्च चलाउन कठिन भएको अध्यक्ष वगाले जानकारी दिए। जिल्लामा करिब ४० हजार किसान दूध उत्पादनमा संलग्न छन्।


















