Logo

१० चैत,वीरगञ्ज ।  पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु ले वीरगन्जस्थित नारायणी अस्पतालमा देखिएको बेथिती र अव्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी भोला दाहाल सँग छलफल गरेका छन्।

मंगलबार प्रजिअ दाहालको कार्यकक्षमा भएको छलफलमा सांसद कानुले अस्पतालमा बिचौलिया र दलालको गतिविधि बढ्दो क्रममा रहेको, जसले बिरामीलाई प्रत्यक्ष असर पुर्‍याइरहेको भन्दै कडा कदम चाल्न आग्रह गरे। उनले डाक्टरहरूले निजी अस्पतालमा बिरामी रेफर गर्ने, एम्बुलेन्स चालक मार्फत दलाली गरिने जस्ता गैरकानुनी गतिविधि बढिरहेको बताएका छन्।

सांसद कानुले सरकारी अस्पतालमा चिकित्सक समयमा नआउने र पूरा ड्युटी नबस्ने जस्ता गतिविधिले सेवाग्राहीमा प्रतिकूल प्रभाव पारिरहेको भन्दै नियमित अनुगमन र कडाइ आवश्यक भएको बताए। साथै, छठ पर्वको समयमा छठघाट वरिपरि माछा–मासु बिक्री हुँदै आएको प्रति आपत्ति जनाउँदै धार्मिक आस्था र सामाजिक सद्भावको सम्मानका लागि तत्काल रोक लगाउन माग गरे।

गर्मी मौसमसँगै बढ्ने आगलागी र अन्य विपद् व्यवस्थापनका तयारीबारे पनि छलफल गरिएको थियो। सांसद कानुले दमकल, पानीको स्रोत, उद्धार टोली र आवश्यक उपकरणको पर्याप्त व्यवस्थापन गर्न जोड दिए।

प्रजिअ दाहालले सांसदको ध्यानाकर्षण सकारात्मक रहेको बताएका छन् र आवश्यक अनुगमन, समन्वय र कारबाही अघि बढाइने प्रतिबद्धता जनाए।

छलफलमा रास्वपा का युवा नेता सुधिर पटेल, मुर्ली जलान, क्षेत्रीय सभापति फैयाज मिया र प्रकाश साह लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार