१० चैत,काठमाडौं । रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्रिपरिषदको गठनका लागि पार्टी अन्तिम तयारीमा जुटेको छ। पार्टी स्रोतका अनुसार केही मन्त्रालयमा निर्णय भइसकेको छ भने केही बाँकी रहेका पदमा पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा छन्।
बालेन यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन् र सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन हुने अपेक्षा छ। हाल १५–१८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेको छ। रास्वपाले चुनावी वाचापत्रमा मन्त्रालय संख्या १८ मा सीमित गर्ने उल्लेख गरेकाले यसभन्दा ठूलो मन्त्रिपरिषद नबनाउने तयारी भइरहेको छ।
स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना छ। उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले मन्त्री बन्ने निश्चित भएका छन्। गृह, अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयसम्बन्धी जिम्मेवारीमा छलफल जारी छ।
भौतिक पूर्वाधार मन्त्रालयमा सुनिल लम्साल, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, स्वास्थ्य वा कानुन मन्त्रालयमा सोविता गौतम को नाममा चर्चा भइरहेको छ। सभामुख पदका लागि जगदिश खरेल र प्रतिभा रावल का नाम चर्चामा छन्।
युवा तथा खेलकुद मन्त्रालयमा सुदन गुरुङ, पर्यटन वा सञ्चार मन्त्रालयमा मनिष झा को नाममा छलफल भइरहेको छ। केही नेतालाई सचिवालय तहबाट ‘रिजर्भ’मा राख्ने तयारी पनि भइरहेको छ।
रास्वपाले २१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकबाट ५७ सिट प्राप्त गर्दै प्रतिनिधि सभामा कुल १८२ सिटसहित झण्डै दुई तिहाइ बहुमतको सरकार गठनको गृहकार्यमा छ।

















