१० चैत,काठमाडौं । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ लागू भएयता देशभरका २,९४८ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयका अनुसार नयाँ नियमावली जारी भएपछि हालसम्म उनीहरूले नयाँ व्यवस्थाअनुसार नागरिकता पाएका हुन्।
चौथो संशोधनपछि नागरिकता नियमावली, २०६३ को नियम ३, ५, ७, ८ र १४ मा संशोधन गरिएको छ। त्यस्तै, नियम १६ (क) थप गरिएको छ भने मूल नियमावलीको अनुसूचीमा पनि परिवर्तन गरिएको छ।
नयाँ व्यवस्थाअनुसार, बुबा वा आमामध्ये एक जनाले जन्मका आधारमा नेपाली नागरिकता पाएको र अर्को अभिभावक नागरिकता नपाउँदै मृत्यु भएको वा बुबाको ठेगाना अज्ञात रहेको अवस्थामा नेपाली आमाबाट विदेशमा जन्मिएका सन्तानले नागरिकता प्राप्त गर्न सक्ने भएका छन्। यसमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।
नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातका अतिरिक्त स्वघोषणालाई पनि महत्वपूर्ण आधारका रूपमा लिन सकिने व्यवस्था गरिएको छ। यसले स्थानीय तहको भूमिका र जिम्मेवारीलाई थप सुदृढ बनाएको छ।
संशोधनले नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई स्पष्ट गरेको छ। साथै, विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्दा वैवाहिक अङ्गीकृत नागरिकता पाउनु अघि नेपालमा बसाइँ अनुमति (भिसा) नियमित हुनुपर्ने व्यवस्था पनि स्पष्ट गरिएको छ।
यस नयाँ कानुनी व्यवस्थाले आमाको नामबाट नागरिकता वितरण प्रक्रियालाई सरल, पारदर्शी र स्थानीय तहमै पहुँचयोग्य बनाउने लक्ष्य राखेको गृह मन्त्रालयले जनाएको छ।

















