११ चैत,काठमाडौं ।उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने घोषणा गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा घिसिङले मतदाताले सडकमा बसेर सरकार चलाउन मतदान गरेको भन्दै आफूहरूले पनि सोहीअनुसार सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताए।
उनले भने, “उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउन म्यान्डेट दिइएको छ। हामी सडकबाटै आम नेपाली जनताको सरकार चलाउने छौँ। देशको समस्या, विभेद र समृद्धितिर लैजान हाम्रो सशक्त भूमिका हुनेछ।”
घिसिङले सरकारलाई सचेत गराउने र देशलाई सही मार्गमा लैजान खबरदारी गर्ने पार्टीको योजना पनि सार्वजनिक गरे। उनले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा उज्यालो नेपाल पार्टी सशक्त राजनीतिक विकल्पको रूपमा उदय हुने दाबी गरे।
पार्टीले अब गाउँ र टोलसम्म संगठन विस्तार गर्ने तयारी गरेको जानकारी उनले दिए। तर, फागुन २१ गते भएको निर्वाचनमा घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले एक सिट पनि जित्न सकेन।

















