११ चैत,काठमाडौं । अखिल नेपाल सुकुमबासी संघले काठमाडौं उपत्यकाका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर आतंक सिर्जना गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेको छ।
संघले बुधबार पत्रकार सम्मेलन गरी बस्तीमा डोजर चलाउनु कानुनी दृष्टिले गलत भएको र यसले सुकुमबासी समुदायमा डर र असुरक्षा सिर्जना गरेको आरोप लगाएको हो।
संघका इन्चार्ज नरेन्द्र खड्का का अनुसार, चैत ९ गते टोखा नगरपालिका वडा ७ स्थित धापासी बस्तीमा डोजर चलाएर १८ घरमा असर पुगेको छ। त्यसमात्र होइन, काठमाडौंको सिफल र भक्तपुरका सुकुमबासी बस्तीमा पनि यस्तै घटना भइसकेको उनको भनाइ छ।
खड्काले सरकारले निर्वाचनबाहेक अन्य काम गर्न अधिकार नभएको भन्दै, “सुकुमबासी बस्तीमा डोजर किन चलाउनु परेको?” भन्ने प्रश्न उठाएका छन्। उनले यस विषयमा सरकार बनाउन लागेको दलले मौन बस्नु अनावश्यक भएको पनि बताए।
अखिल नेपाल सुकुमबासी संघले सरकारले भूमिहीन, अव्यवस्थित, सुकुमबासी समस्या समाधानमा कानुनी र स्थायी उपाय खोज्नुपर्ने माग गरेको छ।

















