११ चैत,काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारे तत्कालीन गृहमन्त्री रमेश लेखक ले जेनजी अगुवाहरूको अभिव्यक्तिबाट प्रदर्शनमा घुसपैठ भएको तथ्य आफूले प्रत्यक्ष देखेको बताएका छन्।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सरकारले अझै सार्वजनिक गरेको छैन। तर ‘जनआस्था’ साप्ताहिकको अनलाइन संस्करणले प्रतिवेदनका विषयवस्तु सार्वजनिक गरेको छ। प्रतिवेदनको फोटोकपीअनुसार लेखकले आयोगलाई दिएको बयानमा घटनाक्रम सुरु हुनु अघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि र आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत प्राप्त भएको उल्लेख गरिएको छ।
लेखकले भनेका छन्, “भदौ २३ मा जेनजी पुस्ताले उठाएका मागहरू मूलत: ठीक थिए, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भई भएका दु:खद घटना र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न सकिँदैन।”
उनले जेनजी अगुवाहरूले प्रदर्शनलाई हिंसात्मक बनाउने प्रयास गरेको तथा आफ्नै साथीहरूलाई “आ–आफ्नो घर फर्किनुस्” भन्दै चेतावनी दिएको अभिव्यक्तिले घुसपैठको तथ्य पुष्टि गरेको पनि बताए।
लेखकले फिल्डमा प्रत्यक्ष आदेश नदिने तर नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पारेका छन्।
यो बयानले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति सरकारको भूमिका, सुरक्षा निकायको तयारी र घुसपैठ भएको स्पष्ट चित्र पेश गरेको छ।

















