११ चैत,काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ले राजनीतिक नियुक्ति पाएकाहरूलाई नयाँ सरकारले पदबाट हटाउनुअघि नै स्वेच्छाले पद छोड्न सुझाव दिएका छन्।
बुधबार फेसबुकमार्फत भण्डारीले जनताले विश्वास गरेको बहुमतको सरकार बनिसकेको बताए र पदमा बस्न ढिला नगर्न आग्रह गरेका हुन्। उनले भनेका छन्, “बहुमतको सरकार बनिरहेको छ। जोस र जाँगर छ। जनताले पत्याइसकेका छन्। विगतमा राजनैतिक नियुक्ति पाएकाले पद छोडे भइहाल्यो नि।”
उनले थप सुझाव दिएका छन्, “अब धेरै लामो सास नफेर्नु। सल्लाह पनि नखोज्नु। ‘हटायो’ भन्ने शब्द आउन किन दिने? नयाँका नजिर बन्न सक्दछ।”
भण्डारीले पद, दौरा–सुरुवाल, कोट, पैसा, निवास वा गाडीले दिएको सुरक्षा वा लोभले बढाएका कर्तुतलाई स्वाभिमानको विरोध भएको भन्दै राजनीतिक नियुक्ति पाएकालाई सजग रहन आग्रह गरेका छन्।